दफा ५०९
प्रस्ताव वा स्वीकृति रद्द गर्न सकिने

(१) प्रस्तावकले आफ्नो प्रस्ताव सूचनाद्वारा रद्द गर्न सक्नेछ । तर प्रस्ताव रद्द गरिएको सूचना पाउनुभन्दा अगावै प्रस्तावित व्यक्तिले प्रस्तावमा स्वीकृति दिइसकेको सूचना प्रस्तावकले पाइसकेको भए त्यस्तो प्रस्ताव रद्द हुने छैन ।
(२) प्रस्तावित व्यक्तिले आफूले पठाएको स्वीकृति सूचनाद्वारा रद्द गर्न सक्नेछ । तर स्वीकृति रद्द गरिएको सूचना पाउनुभन्दा अगावै प्रस्तावकले स्वीकृतिको सूचना पाइसकेको भए स्वीकृति रद्द हुने छैन ।
(३) प्रस्तावमा इन्कारी जनाई सूचना पठाउने व्यक्तिले प्रस्तावमा पुनः स्वीकृति दिई सूचना पठाउन सक्नेछ । तर यसरी इन्कारी जनाइएको वा स्वीकृति दिइएको सूचनाहरूमध्ये इन्कारी जनाइएको सूचना पहिले पुगेमा करार भएको मानिने छैन र स्वीकृति जनाइएको सूचना पहिले पुगेमा करार भएको मानिनेछ ।
(४) प्रस्ताव पठाई सकेपछि उपदफा (१) बमोजिमको सूचना पठाएकोमा, स्वीकृति पठाई सकेपछि उपदफा (२) बमोजिमको सूचना पठाएकोमा वा प्रस्तावमा इन्कारी जनाई सकेपछि उपदफा (३) बमोजिमको सूचना पठाएकोमा र त्यस्ता सूचनाहरू सम्बन्धित व्यक्तिले एकै समयमा पाएमा करार भएको मानिने छैन ।
(५) प्रस्तावकले पठाएको प्रस्तावमा प्रस्तावित व्यक्तिले शर्त सहित वा कुनै कुरा परिवर्तन गरी स्वीकृति पठाएमा प्रस्तावित व्यक्तिले प्रति प्रस्ताव गरेको मानिनेछ ।